शेर्पाको ईतिहास
शेर्पाको ईतिहासको बारेमा परपूर्वकालदेखि नेपालको विभिन्न भू–भागमा वसोवास गर्ने शेर्पा जातिहरु राज्यको विभिन्न निकायबाट पछि पारिदै आएको छ । विश्वको इतिहासलाई नियाल्दा परपूर्वकालदेखि नै नेपालको विभिन्न भू भागमा वसोवास गर्दै आएको तथ्यहरु प्रमाणित रहेका पाईन्छ । विशेष गरि हिमाली क्षेत्रलाई आफ्नो बसोवास थलोको रुपमा मनपराई हिमाली भू–भागमा बसोवास गरेका शेर्पा जातिहरु विशेषता चिन र तिव्वत सँग जोडिएको भूभागमा वसोवास गरेकोहुदाँ शेर्पा जातिलाई अन्य उपल्लो जातिका मानिसहरुले तिव्वततियन वा भोटबासी (भोटे) वनेर भन्ने प्रचलन छ ।
सगरमाथामा पहिलो पटक पाईला टेक्ने तेन्जिङ नोर्गे शेर्पाले सगरमाथमा पहिलो पटक पाईला टेकेपछि मात्र नेपालका शेर्पाहरुलाई शेर्पा भनेर भन्न थालेको भन्ने भेटिन्छ तर यर्थाथ र ईतिहासमा के प्रमाणित छ भने नेपालमा प्राचिन काल देखि नै आफ्नो आदिपत्यता जमाउदै आएका शेर्पाहरुलाई तत्कालिन शासकहरुले तिव्वतियन शरनार्थीको उपमा राखी नेपालबाट नै विस्थापित गर्न खोज्नु र राज्य संचालनको महत्वपूर्ण स्थानसम्म पुग्न नदिनु नै हो ।
मानव जातिको विकास सँगै नेपालमा नै बसोवास गर्दै आएका शेर्पा जातिहरु तत्कालिन राजा मानदेव, लिक्षिवी राजा देखि तत्कालिन बाईसे र चौविसे राज्यका बेला पनि राज्य संचालन तथा राज्य सञ्चालकको पहरेदारको रुपमा रहेको पनि ईतिहासहरुमा पाईन्छ । जातिय रुपमा शिदा र सोझा शेर्पा जातिहरु त्यस वेला देखि नै अन्य टाठाबाठाहरुले दासको रुपमा प्रयोग गर्दै विभिन्न चर्को तथा गाह्रो काम तथा भूभागमा पठाउने गरेको भन्ने ईतिहासमा प्रमाणित छ ।
पशुपालन तथा चिसो भु भागमा बसोबास गर्न रुची राखने शेर्पा जातिहरु अझै पनि सोही पेशा अंगालेर बसेका छन् भने युगको आधुनिकता सँगै अन्य उपल्लो जातिले झैं राज्यको विभिन्न निकायमा आफ्नो जातिय अस्तित्व र पहिचानको लागि संघर्ष तथा संलग्नता देखाउदै आएका छन् । नेपालका सोलुखुम्वु, ओखलढुंगा, रामेछाप, संखुवासभा, भोजपुर, मुस्ताङ, दोलखा,खोटाङ, ताप्लेजुङ, दाचुर्ला, लगायतका जिल्लामा बसोवास गर्दै आएका शेर्पा जातिहरु भने हाल नेपालको राजधानी काठमण्डौ, नेपाल गञ्ज, सुनसरी,धरान लगायतका शहर र विरटनगरमा पनि बसोवास गर्दै आएका भेटिएको छ । आर्थिक हिसावले सवाल शेर्पा जातिहरुको शैक्षित स्तर भने अति न्यून रहेको पाईन्छ नेपालको परिप्रेक्षमा अध्ययन अनुसन्धानहरुका अनुसार शेर्पाहरुले आफ्नो सांस्कृतिलाई लत्याई रहेको र दिन दिनै आफ्नो संस्कारलाई लोप पार्दै लगिएको भन्ने प्रष्ट हुन्छ । पश्चिमेली संस्कार संस्कृति भित्रिएका कारण पनि शेर्पाहरु आफ्नो पहिचान र लिपीहरु विर्सदै गएको र परम्परालाई तोड्दै गएको पाईन्छ
जन्म सम्बन्धि संस्कार
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नया बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरीन्छ ।
बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरुको नामको आधारमा गरीन्छ जस्तो निमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम आपसमा मिल्छ। न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम संग नमिल्ने गरी राखने चलन छ जस्तै कामे, सार्की, दोमे आदि।
नानीको न्वारानमा आफ्ना नातागोताहरु, साथीहरु र छिमेकीहरु जम्मागरि भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरुले पनि नानीको लागी कोसेली वा खाम्मा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो मा धजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनीन्छ ।
शेर्पा जातिको बिबाह संस्कार
शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा ( सानीआमा ) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।
त्यस्तै विविध “रु” अथवा “थर” हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै “लामा र च्यावा” हुनेको अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदी प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।
गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता “रु” र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।
शेर्पा जातिको विवाहमा पुयाउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई “ठिज्यङ” भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई “लोङज्यङ” भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई “पेज्यङ” भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट बिबाहको मिति तोकिएपछि बिबाहको तयारी सुरु गरिन्छ । बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ ।
बिबाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यको जानकारी सहित आफुनो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई बिबाहको कार्यव्रmममा सरीक हुन निमन्त्रणा “देन्ज्यङ” पठाउने काम हुन्छ ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म “सिपखोलु” को पुजा गरिन्छ । सिपाखोलु लाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको “दत्तर” र हातमा “फुम्बा” (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई “सुजर्यङ” भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई “क्याल्मी” भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ ।
जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु “लामा” बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ ।
जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यव्रmम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई “सील्ज्याङ” भनिन्छ । यस पछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ ।
यस पछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आप्mनो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई “मोला” भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ ।
यस पछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई “याङजी” गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै “एहोक एहोक.” भन्दै नाच्न थाल्छन, यस नाँचलाई “सिली नाँच” भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ ।
यसरी बिबाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई “टशिसोलुप” भनिन्छ । बिबाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई “कर्म लोउ” भनिन्छ ।
मृत्यू सम्बन्धि संस्कार
शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पन्न गरीन्छ। जस अनुसार कसैको मृत्यू हुना साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ। लामा पुरोहीत हरु बोलाई धार्मीक बिधीअनुसार पाठपुजा गर्नु पर्दछ। ठुला ठूला लामाहरु बाट फोवा हाल्नु पर्दछ। लासलाई धार्मीक बिधी अनुसार ठु ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ। लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घरमानै वा आफनो घर नभएमा मृत्यूसंस्कार गर्ने सुबिधा भएका सार्वजनीक गुम्बाहरुमा राखी दिन् रात पुजा गरिन्छ। शेर्पासमाजमा कसैको मृत्यूभएमा मृतकको नाताहरु धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ। लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरु जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ। लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मीक बिधीबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ। लासमा आगो लगाएपछी सबै मलामिहरुलाई पैसा दिइने चलन छ यसलाई लक्पा रब्चे भनीन्छ।मृत्यू पछीपनि आत्मा आफ्नो घर परिवारको वरिपरीनै घुमी रहन्छ भन्ने बिस्वाश मा दाह संस्कार पछी मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरुको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म संगै राखने चलन छ। यस प्रकृयालाई शेर्पा भाषामा (तेन स्योम्बु) अथवा सातु पाल्नु भनीन्छ ।यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकीन्छ। मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रतेक हप्ता अरु लामाहरु बोलाई पुजा गरीन्छ। यस पुजालाई दिन्जी भनीन्छ। मृत्यु भएको ३ देखी ७ साता भित्र लामा पुरोहीतहरु बोलाई पुजा गरी नातादारहरु, मित्रहरु बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पन्न गरीन्छ। मृतकको सम्झनामा प्रतेक बर्ष पुजा गर्ने चलन पनि छ। यसलाई लोम्ज्यु अथवा गोङ्जो भनीन्छ। शेर्पाहरुको मरण संस्कारमा अपनाईने कर्मकाण्डको बिबरण तल दिईएकोछ।
फोवा ग्यकु,
यसको शाब्दिकअर्थ स्थानतरण गर्नु वा ठाँउ सार्नु हो। यो मृत्यूशैयामा रहेको व्यक्तिको सास जान लाग्दा लामा गुरुजन द्वारा अध्यात्मीक मन्त्र शक्तिबाट मरणासन्न व्यक्तिको आत्मा (नम्शिङ) लाई शिरको ब्रह्माण्ड बाट छिराई सुगति र शुद्ध भुवनमा उद्धार गर्ने तान्त्रीक बिधीहो। शेर्पाहरु यस बिधीको शिक्षा लाई मरणासन्न अवस्थामा मात्र नभइ जिवीत हुँदा पनि ग्रहण गर्दछन। कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ।
थोटोल रोकु
यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा सुद्धहुनु। मृत्यूशैयामा रहेको मरणासन्न व्यक्तिलाई एकजना लामाले थोटोल पाठगरि सुनाईन्छ। यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने बिभीन्न डर त्रासको अनुभूति र त्यसको निबारणको ऊपायहरु बारे बताईएको हुन्छ। यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएकोछ।
ठुसोल खिरु
यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो। व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजन बाट अभिसिन्चीत शुद्ध जल ले सिन्चीत गरि शुद्ध पारीन्छ।
रो गोङगु
ठुसोलको बिधी सम्पन्न भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राखने बिधीलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने बिधीलाई फुङबो गोङगु भनिन्छ।
सेम्सो खिरु
यसको शाब्दिक अर्थ सान्त्वना दिनुहो। मृत्युको कारणबाट घर परिवारमा परेको दुखमा सहभागी हुन मृतकका आफन्तहरु बत्तीबालने घ्यु, पर्सादको लागी फलफुल, र पैसा राखी सान्त्वना प्रगट गर्छन।
केम्क्षाङ गेङगु
मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरु र छरछिमेकी हरुले पेयपदार्थ तथा फलफुलहरु राखी सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनीन्छ।
लम्तेन लामा
मृतकको दाह संस्कारको लागी लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाती लामाले नडोराएर लाने गर्दछ। यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन।
च्यब्तर लोङगु
मृतकको दाह संस्कारको लागी लाने समयमा पन्चरङगी ध्वजाहरु निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्ध भई जाने प्रचलन लाई च्यब्तर लोङगु भनिन्छ।
दीन्जीन तोङगु
मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिन देखी प्रतेक सात सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पुजालाई दीन्जीन तोङगु, भनिन्छ।
न्यापोर
मृतकको आत्मालाई यस दुखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रीक बिधीबाट घ्यवा नसकुन्जेल प्रतेक सात सात दिनमा गरिने अनुष्ठानलाई न्यापोर भन्दछ।
झिन्सक लुकु
मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछी मृतकको पाप शोधनको लागी लामा हरुबाट गरिने सामुहीक यज्ञलाई झिन्सक लुकु भन्दछन।
लग्प रब्छे
चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरु सबैलाई दक्षिणा स्वरुप केही रकम बितरण गरिने चलन छ। यसलाई लग्प रब्छे भन्दछन।थुटी सुम्पु
घाटमा लास जलाई सके पछी त्यहाँ रहन गएको अस्तुहरु र हाडका टुक्राहरु र खरानीहरु जम्मा गरि खोलामा बिसर्जन गर्ने बिधीलाई थुटी सुम्पु भनीन्छ।
पुर्खाङ ग्यकु
मुर्दा जलाएको व्यक्तिगत घाटहरुमा चैत्य बनाई मृतकको अस्तु, सामानहरु राखने परिपाटीलाई पुर्खाङ ग्यकु भनीन्छ।
छपर ग्यकु
मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामा बाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरुको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ।
क्येल्हा श्येङगु
मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नाम बाट बिभीन्न मुर्ति वा थङका बनाई लामाबाट प्राण प्रतिषठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने बिश्वाश गरिन्छ। यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ।
क्षङ्गा
मृत्युभएको ४९ दिन भित्र आफ्नो गच्छेअनुसार लामाहरु बोलाई पाठपुजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरु, छरछिमेकीहरु र ईष्टमित्रहरुलाई आमन्त्रण गरि खाना खुवाई पर्शादहरु बाँडेर मृतकको नाममा गरिने पुजा सम्पन्न गरिन्छ। यस अनुष्ठानलाई घ्येवा (क्षङ्गा) भनिन्छ।
लोम्ज्यु
व्यक्ति देहबसान भएको दिनको बर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने बार्षीक पुजालाई लोम्ज्यु भनिन्छ।